धरान / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले शिक्षा तथा सार्वजनिक लेखा व्यवस्थापनसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा सुधार, सार्वजनिक लेखा सुधार तथा कार्यसम्पादन व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको हो । कार्यक्रममा सार्वजनिक लेखा समिति सदस्य तथा संघीय सांसद प्रेमलाल चौधरीको विशेष उपस्थिति रहेको थियो । सहभागीहरूले शिक्षा क्षेत्र तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विभिन्न समस्या, चुनौती र सुधारका उपायबारे आफ्ना धारणा राखेका थिए ।
रास्वपा धरान नगर समितिका अनुसार स्थानीय स्तरमा देखिएका समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घकालीन समाधानको खोजी गर्ने उद्देश्यले विषयगत अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ । सोही अभियानअन्तर्गत शैक्षिक सुधार र सार्वजनिक लेखा सुधार विषयमा यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले शिक्षा सुधार, सार्वजनिक लेखा सुधार र कार्यसम्पादन व्यवस्थापनसँग सम्बन्धित आफ्ना अनुभव, समस्या तथा सुझाव प्रस्तुत गरेका थिए । सहभागीहरूले उठाएका विषयहरूलाई सम्बन्धित मन्त्रालय तथा निकायसम्म पु¥याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता सांसद चौधरीले व्यक्त गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन नगर समितिका सचिव ख्याम प्रसाद फुयाँलले गरेका थिए भने सभापतित्व नगर सभापति सुमन श्रेष्ठले गरेका थिए । रास्वपा धरानले धरानको वर्तमान अवस्था, समस्या पहिचान तथा समाधानका उपाय खोज्न विभिन्न चरणमा बहस र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । समृद्ध धरान निर्माणका लागि सुशासन, सार्वजनिक धनको सही व्यवस्थापन र प्रभावकारी कार्यसम्पादनमा विशेष जोड दिइएको नगर समितिले बताएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्था तथा सरोकारवालाहरु झण्डै दुई दर्जन सहभागीहरूले आफ्ना राय, सुझाव तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै नगर सभापति श्रेष्ठले आगामी दिनमा पनि यस्ता विषयगत अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।




















