धरान / धरान ९ स्थित ब्रदर्स अनलाइन मिडिया हबले आयोजना गरेको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ’ब्रेन ब्याटल सिजन–१’ को उपाधि धरानको सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सिद्धार्थ शिशु सदनले चार चरणको प्रतिस्पर्धाबाट कुल ८० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । उपाधिसँगै विद्यालयले नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल ५० अंकसहित दोस्रो भयो । विद्यालयले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी डिपो स्कुल ३५ अंकसहित तेस्रो स्थानमा रहँदा नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्यो । धरान मोडल स्कुल सान्त्वना स्थानमा रहँदै ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

जेठ २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सुनसरी जिल्लाका २० विद्यालय सहभागी भएका थिए । विभिन्न चरण पार गर्दै चार विद्यालय फाइनलमा पुगेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए । उनले ब्रेन ब्याटललाई विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै ब्रदर्स अनलाइन मिडिया हबका अध्यक्ष विरेन्द्र थापाले यस्ता प्रतियोगिताले विद्यार्थीको शैक्षिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ब्रेन ब्याटलको समापन समारोहमा पत्रकार रणध्वज लोहार लाई ‘स्व. उदयबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारसँगै सम्मानपत्र र नगद समेत गरिएको हो । यसै अवसरमा बिटिभी नेपालमा सम्पादकको जिम्मेवारी सम्हालेका नवराज विष्टलाई स्वागत तथा सम्मान गरिएको थियो । समाचार प्रस्तोता मित्रता श्रेष्ठलाई पनि कार्यकुशलताका आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ ।




















