वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका–८ निवासी युवा दिनेश गाउँलेले आफ्नी छोरीको जन्मदिनलाई केवल पारिवारिक उत्सवमा सीमित नराखी समाजसेवाको माध्यम बनाउँदै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् । गाउँलेले श्री कोशी माध्यमिक विद्यालय, वराहक्षेत्र–८, बाङ्गेशोराका विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि २०० थान डटपेन, १०० थान पेन्सिल तथा रु. ५,००० आर्थिक सहयोग प्रदान गरेका थिए । उक्त रकमबाट विद्यालयमा आर्थिक अवस्था कमजोर, असहाय, अशक्त, अपाङ्ग, जेहेन्दार तथा न्यून आयस्रोत भएका विद्यार्थीहरूको सहयोगका लागि ‘विद्यार्थी सहायता कोष’ स्थापना गरिएको विद्यालयले जनाएको छ ।

एक महिनाअघि पश्चिम जितपुर क्षेत्रमा विद्यालयबाट घर फर्किने क्रममा एक विद्यार्थी अचानक बेहोस भई साइकलबाट लडेको घटनाको आफू प्रत्यक्षदर्शी बनेका थिए । तत्काल आफ्नै मोटरसाइकलमा राखेर अस्पताल पु¥याएको उक्त घटनापछि भविष्यमा कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण प्राथमिक उपचार वा आकस्मिक सहयोगबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सहायता कोष स्थापना गर्ने सोच आएको दिनेशले बताए ।
उनले जन्मदिनजस्ता व्यक्तिगत उत्सवमा हुने अनावश्यक खर्चलाई समाजसेवामा रूपान्तरण गर्न सके धेरै विद्यार्थीको शिक्षा, स्वास्थ्य र सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । विद्यालय परिवारले दिनेश गाउँलेको मानवीय, सामाजिक तथा अनुकरणीय कार्यको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ । विद्यालयले यस्ता सामाजिक अभियानले अन्य व्यक्ति तथा युवाहरूलाई पनि समाजप्रति उत्तरदायी बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।




















