धरान /  धरानमा प्रदेशस्तरीय बडिबिल्डिङ प्रतियोगिता ‘राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप–२०८३’ हुने भएको छ । धरान–७ स्थित धरान फिटनेस क्लबको आयोजनामा हुने प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको दशरथ भवनमा आयोजना गरिने आयोजकले जनाएको छ ।

आयोजक धरान फिटनेस क्लबका अध्यक्ष कबिर भगत प्रधानाङ्गका अनुसार प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले २ लाख रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथो हुनेले ७५ हजार रुपैयाँ, पाँचौँ हुनेले ५० हजार रुपैयाँ तथा छैटौँ हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

1, pankoj jama

यसैगरी, तौल समूहअनुसार हुने प्रतिस्पर्धामा दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ प्रदान गरिनेछ । ‘बेस्ट पोजर’ र ‘मोस्ट मस्कुलर’ विधाका विजेतालाई पनि १०–१० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्नु रहेको अध्यक्ष प्रधानाङ्गले बताए । 

उनका अनुसार प्रतियोगितालाई निष्पक्ष र स्तरिय बनाउन पूर्वी नेपाल तथा काठमाडौंबाट अनुभवी निर्णायक (जज)हरूको टोली सहभागी हुनेछन् । प्रतियोगितामा कोशी प्रदेशका नागरिकता भएका स्वदेश तथा विदेशमा रहेका खेलाडी सहभागी हुन सक्नेछन् । यसअघि प्रदेशस्तरको उपाधि जितिसकेका खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । तर राष्ट्रियस्तरको उपाधि जितिसकेका खेलाडीलाई भने प्रतियोगितामा सहभागी गराइने छैन ।

स्वर्गीय राजभगत प्रधानाङ्गको सम्मान र सम्झनामा आयोजना 

‘राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप–२०८३ प्रतियोगिता’ नेपाली बडिबिल्डिङ तथा भारोत्तोलन क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय राजभगत प्रधानाङ्ग को सम्मान र सम्झनामा आयोजना गर्न लागिएको हो । राजभगत प्रधानाङ्ग धरानका पहिलो ‘स्ट्रोङ्गेस्ट म्यान’ तथा कोशी क्षेत्रका ‘स्ट्रोङ्गेस्ट म्यान’ का रूपमा परिचित थिए । उनले राष्ट्रिय भारोत्तोलनमा कीर्तिमान कायम गर्नुका साथै अन्तर्राष्ट्रिय निर्णायकका रूपमा पनि योगदान दिएका थिए । 

खेलकुदको विकास, युवा पुस्तालाई खेलप्रति प्रेरित गर्ने अभियान तथा बडिबिल्डिङलाई संस्थागत रूपमा अघि बढाउन उनले पु¥याएको योगदानको सम्मानस्वरूप उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।